कपिलवस्तु — शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ।


ADVERTISEMENT


सिंहको अवस्था अझै अज्ञात रहेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गर्नुका साथै ड्रोनमार्फत समेत जंगल क्षेत्रमा निगरानी बढाएको छ।


ADVERTISEMENT

# # #


कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको प्राविधिक टोली झिकाएर खोजी गरिएको हो। गोरुसिंगे क्षेत्रको जंगलमा प्रहरीले विभिन्न टोली बनाएर खोजी गरिरहेको छ।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। करिब साढे ३ बजे उनले आफू निकटका व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिराएको’ जानकारी गराएका थिए। त्यसपछि आफन्त र स्थानीयको टोली उनको खोजीमा जंगलतर्फ गएको थियो।

खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगलमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो। तर मोटरसाइकल भेटिए पनि सिंहको कुनै पत्तो लाग्न सकेको छैन।

यसैबीच, कपिलवस्तुको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा सिंह शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा रामराज पुलसम्म पुगेको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि उनी कहाँ गए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रहरीले सिंहको खोजीका क्रममा सम्भावित सबै ठाउँमा निगरानी बढाएको र घटनासँग सम्बन्धित सबै पाटालाई खुला राखेर अनुसन्धान गरिरहेको जनाएको छ।