काठमाडौँ – युएईमा जारी आईसीसी महिला यू–१९ विश्वकप एशिया क्षेत्र छनोट क्रिकेट प्रतियोगिताको अन्तिम र निर्णायक खेलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ । बुधबार युएईले टस जितेर ब्याटिङ राजेको हो ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा हुने खेल नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले विश्वकपमा छनोट हुन आज जितले मात्रै पुग्ने छैन, फराकिलो अन्तरले युएईलाई हराउनुपर्नेछ ।
यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल आठ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्ड र कुवेत प्रतियोगिताको उपाधि दौडबाट बाहिरिसकेका छन् । ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।



























































