बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पुनर्निर्माण गर्नका लागि तीनै तहको सरकारबीच सहकार्य गरेर काम गर्ने बताएका छन् ।
काभ्रेको बेथानचोक गाउँपालिकामा असोजको दोस्रो साता आएको बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्दै मुख्यमन्त्री लामाले पुनर्निर्माण गर्नका लागि तीनै तहको सरकारवीच सहकार्य गरेर काम गर्ने बताएका हुन् ।
अनुगमनका क्रममा मुख्यमन्त्री लामाले वाग्मती प्रदेशको सवैभन्दा बढी प्राकृतिक प्रकोपबाट क्षति भएको स्थानीय तह देखिएकाले योजना बनाएर नै अघि बढ्ने धारणा राखे । उनले प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत नपुगेको विषयमा प्रधानमन्त्रीसंग कुराकानी गरेको बताए ।
असोजको दोस्रो साता आएको बाढी पहिरोमा परि बेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते उपचाररत रहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जनाए ।
उनका अनुसार, विपदबाट पालिकाका २८२ घरपरिवार विस्थापित भएका छ्न भने ४८१ घर पूर्ण रुपमा क्षति र ११ सय ६३ वटा घरमा आंशिक क्षति पुगेको छ ।



























































