काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मो चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो । जवाफमा दयनीय ब्याटिङ गरेको पोखरा १३.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटियो ।
चितवनका बलरका अगाडि पोखराका ब्याटरले सजिलै आत्मसमर्पण गरे । चितवनका शोहेल तानवीरले पहिलो ओभरमै पोखराका ३ विकेट विकेटमा चट्काए । त्यसक्रममा कप्तान कुशल भुर्तेल शून्य, दिलीप नाथ ४ र बासडी लिडे शून्य रनमा पेवेलियन फर्किए । यस्तै चौथो ओभरमा रिजन ढकालले दिनेश खरेललाई १, किरण ठगुन्नालाई १ र माइकल लिस्कलाई शून्य रनमा पेवेलियनको बाटो देखाएपछि पोखरा ७ रन बनाउँदा ६ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो ।
थप ८ रन जोड्दा पोखराले मार्कस क्रिथ्लेलाई गुमाएपछि पोखराको हार निश्चित बन्यो । त्यसपछि नारायण जोशीले मार्कस क्रिट्च्लेसँग ३० रनको साझेदारी गरे पनि टोलीका लागि प्रयाप्त भएन ।
त्यसक्रममा जोशीले २४ बलमा ३ चौका र २ छक्काको मदतमा ३० रन जोडे भने क्रिट्च्लेले १७ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ चितवनका शोहेलले ३ ओभरमा १ मेडेन राख्दै ६ रन दिएर ३ विकेट लिए भने रिजन ढकालले ३ ओभरमा १० रन तथा लुक बेनकेस्टाइनले ४ ओभरमा ३ रन खर्चिएर समान ३–३ विकेट लिए । दीपक बोहराका नाममा १ विकेट रह्यो ।
यसअघि चितवनका ५१ रनको पारी खेले । उनले ३८ बलमा समान ३–३ चौका र छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्का ठोक्दै ३८ रन जोडे भने हसन इसाखिलले १४ रन बनाउँदा अमर रौटेला १३ रनमा नटआउट रहे ।



























































