काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाका कारण बन्द भएका छोटी भन्सारहरु छिटो खुलाउन सरकारलाई सुझाव दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा यादवले निकै राम्रो राजस्व हुने छोटी भन्सारहरु बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै छिटो खुलाउन सरकारलाई सुझाव दिएका हुन् । नेपाल–भारतका नाकाहरुबाट सानो मात्रामा सामान ल्याउने नागरिकले दुख पाएको र सेटिङमा ठूलामात्रामा सामान भित्राउनेहरुलाई सहज भएको उनले बताए ।
नाकाहरुमा राजस्व छलि गरेर हुने पकेट भन्सार राम्रोसंग चलेको भन्दै उहाले यसमा नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले सीमा क्षेत्रमा रहेका नेपाली बजारहरुको कारोवार सुकेको र पारितर्फ भने बजार निकै चल्ने गरेको देखिएकाले यसले मुलुकको अर्थतन्त्रमा समेत असर पर्न सक्ने बताए ।



























































