काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ । विराटनगरले शुक्रबार चितवन राइनोजलाई ५१ रनले हराएको हो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनरका बासिर अहमद र राजेश पुलामी मगर चम्किएपछि विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३०रनमै समेटिएको हो ।
चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ तथा रवि भोपराले २० रनको योगदान दिए । चितवनलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए भने क्रिस सोल, सुवास भण्डारी, बासिर अहमद र लोकश बमले समान १–१ विकेट लिए ।
यसअघि विराटनगरका लागि बासिर अहमदले सर्वाधिक ६८ रन बनाए । नटआउट रहेका उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।यस्तै राजेशले २० बलमा १ चौका र ३ छक्काको मदतमा ३३ रन बनाए । यस्तै मार्टिन गप्टलले २५ बलमा १ चौका र ४ छक्काको मदतमा ४५ रन बनाए ।
बलिङतर्फ चितवनका रिजन ढकालले २ विकेट लिए भने सोहल तानविर, बासिल हमिद र कप्तान कुशल मल्लले समान १–१ विकेट लिए ।
आजको जितसँगै विराटनगरले प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । उसले ६ खेलमा २ जित र ४ हारसहित ४ अंक ल्याएको छ । यता ६ खेल खेलेको चितवनले ३ जित र ३ हारसहित ६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
८ टोली सहभागी एनपीएलमा जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ भने लुम्बिनी समूह चरणबाटै बाहिरिसकेको छ ।