काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्व व्यवसायी धम्क्याएको आरोपमा ‘विश्नोइ ग्याङ’को नाममा मुद्दा दर्ता भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरू र उद्योगी व्यवसायीलाई धम्की दिएको प्रमाणसहित प्रसाईँ र उनको समूहमा रहेका थप दुईजनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता हुनेमा प्रसाईँसहित झापाकै नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनाली रहेका छन् । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्ता छन् जुटेको प्रमाण
प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयाँललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो । पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् ।
यससम्बन्धमा नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो । त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो ।
भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।
अग्रवाललाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो ।
यसैगरि, अदालतमा पेश भएको अभियोगपत्रमा दुर्गा प्रसाईँले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश भएको छ । फुयाँलको मोबाइलबाट बरामद अडिओमा भनिएको छ, ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाहिन्छ के, ए भाइ खै ?’ चन्द्रलाई फोन गर्थ्यो । त्यो पैसा हाल्न लगाउँथ्यो । ‘५ लाख छिटो हाल भन त !’
चन्द्र बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख रहेको बताइएको छ । यस्ता धेरै अडिओ फेला परेका र फरेन्सिक परीक्षणबाट प्रसाईँकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको स्वीकारेका छन् । उनले भनेको उदृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘त्यो अडियो मैले दुर्गा प्रसाईंको निर्देशनमा राकेश मैनालीले भने अनुसार धम्क्याउन र भारतीय सीम कार्डहरु उपलब्ध गराइ सहयोग गरे वापत मलाई दिने भनिएको रकमको बारेमा दुर्गा प्रसाईंसँग कुराकानी भएको हो ।’
तर, दुर्गा प्रसाईंले भने ती कुनै विषयमा जानकारी नभएको भन्दै इन्कारी बयान दिएका छन् । उनले अडियो जाँच गराउन पनि इन्कार गरेका छन् ।
तर, प्रहरीले उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तासँग जाँच गराएको थियो । त्यसक्रममा डिजिटिल फरेन्सिक ल्याबले उक्त अडियो प्रसाईंको आवाजसँग एकापसमा मिलेको भनेर प्रतिवेदन दिएको छ ।



























































