काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।


ADVERTISEMENT


सिंहदरबारमा उनीहरूबीच केहीबेरअघिदेखि भेटवार्ता चलिरहेको हो । सिंहदरबारमा भएको भेटमा असोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सामेल थिए ।


ADVERTISEMENT

# # #


यद्यपि भेटवार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको इन्ट्री भएपछि श्रेष्ठ भने बाहिरिएका छन् । उनीसंग मोहन श्रेष्ठ पनि सहभागी छन्।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।

‘हामी निम्तो दिने कार्यक्रममै व्यस्त छौं,’ श्रेष्ठले भने, ‘स्वभाविक रुपमा तीन नेताबीच भेट भएपछि केही कुराकानी त हुने नै भयो ।’

अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरू हिजो (बिहीबार) पनि भेट भएको थियो । बिहीबारको भेटमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल पनि सहभागी थिए ।

सो भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भएको थियो । आजको भेटमा भने पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।