काठमाडौँ– भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ ।
भारतीय प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार, लखनऊ निवासी २१ वर्षीय अद्विक श्रीवास्तवले मृतक लम्साललाई मानसिक यातना दिएको पुष्टि भएको हो । हाल आरोपी श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको र प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने विश्वास लिइएको छ ।
यो घटनालाई लिएर भुवनेश्वरमा रहेको इन्फोसिटी पुलिस स्टेसनमा एफआइआर (फर्स्ट इन्फोर्मेसन रिपोर्ट) दर्ता भएको छ । प्रकृतिमाथि एक युवकले ब्ल्याकमेल गरेको भन्दै उनका एक आफन्तको नामबाट प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले उक्त केसलाई भारतीय न्याय संहिता (बीएनएस) को धारा १०८ अन्तरगत दर्ता गरेको हो ।
एउटा फोन सम्वादको अडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा ती युवकले प्रकृतीलाई अपशब्दसहित भद्दा गालीगलौज गरेको सुनिन्छ । यो अडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।
आईआईटी कलेजमा अध्ययनरत लम्साल कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो । तर, त्यहाँ रहेको नेपाली विद्यार्थीले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि कलेजमा तनाव उत्पन्न भएको थियो ।
सो क्रममा कतिय विद्यार्थीहरु नेपाल फर्किन बाध्य भएका थिए भने केहीले होस्टेल छोडी अन्यत्र बसाई सरेका थिए । तर, घटना सामाजिक सञ्जालमार्फत भाइरल भएपछि भारतीय प्रहरीहरु नै नेपाली विद्यार्थी फर्काउन राति ११ बजे रेलवे स्टेशन पुगेका थिए ।