काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज हुने नेपाल र म्यानमारबीचको फाइनल खेलको सबै टिकट विक्री भइसकेको जनाएको छ ।
एक भिडियो सन्देश जारी गर्दै एन्फाका महासचिव किरण राईले टिकट विक्री भइसकेकाले टिकट भएका दर्शकलाई मात्रै रंगशालामा आउन आग्रह गरेका हुन् । उनले दशरथ रंगशालाको क्षमता अनुसारको टिकट बिक्री भइसकेको र थप मान्छे राख्न नसकिने भएकाले घरमै बसेर खेल हेर्न आग्रह गरेका छन् ।
‘धेरै दर्शकले माया गरेर यो टिकट किनिदिनु भएको छ । अरु पनि दर्शकलाई रंगशालामा राखेर फुटबल देखाउन हामी समर्थ भएका छौँ ।’ उनले भने, ‘भविष्यमा ठूलो रंगशाला निर्माण भएमा पक्कै पनि हामीले त्यो सुविधा प्राप्त गर्नेछौँ । अहिलेलाई सबै टिकट बिक्री भइसकेकाले टिजिटल प्लेटफर्ममार्फत घरमै बसेर हेरिदिन हुन आग्रह गर्छु ।’
उनले प्रतियोगिताको टिकट विक्री र अन्य आयबाट प्राप्त रकमलाई महिला फुटबलकै विकासका लागि खर्च गरिने बताए । नेपाल र म्यानमारबीचको फाइनल खेल साँझ ६ बजेदेखि सुरु हुँदैछ ।