काठमाडौं- एनएमबी बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
दूध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित उक्त आयोजना मनाङ जिल्लामा निर्माण भइरहेको छ। आयोजनाको प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको छ।
आयोजनामा एनएमबी बैंक अगुवा बैंकका रूपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकका रूपमा सहभागी भएको छ। ६५ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसमध्ये बैंकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रुपैयाँ रहनेछ।
ऋण सम्झौतामा एनएमबी बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीका तर्फबाट अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन्।
एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको जनाएको छ। बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी नीतिअनुसार आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कन गर्दै आएको जनाएको छ।
दूध खोला आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासन पक्षको प्रारम्भिक मूल्याङ्कनका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स द्वारा विकसित हाइड्रोसेलेक्ट टुल समेत प्रयोग गरिएको बैंकले जनाएको छ।































































