काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।
बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिस क्लबले लगातार सातौं जित निकालेको हो । जीतसंगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ । खेलमा पुलिसले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलव २ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन जोडे ।
त्यस्तै प्रतियोगीता अन्तर्गत रुपन्देहीकै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशेलाई पाँच रनले पराजित गर्यो । कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९ दशमलव ४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८ दशमलव ५ ओभरमा २ सय ५ रन बनाएको थियो । कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे ।