काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारवाही गर्ने सही समय आएको बताएका छन् ।
शनिबार काठमाडौंमा प्रेस सेन्टरको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र अपराधिक मनस्थितिका मान्छेहरुलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सहि समय आएको बताएका हुन् । सरकारले अहिलेको समयमा कडा कदम चाले आफूहरुको पनि समर्थन हुने उनले बताए । प्रचण्डले सरकारले सम्झौता गर्ने र भ्रष्ट तत्वलाई चलखेल गर्ने अवसर प्रदान गरे देशलाई फाइदा नपुग्ने धारणा राखे ।
उनले समाजवादी मोर्चाले पचासौं हजारौं जनता सडकमा नउतारेको अझै ठूलो दुर्घटना हुने खतरा देखिएको तर्क गरे । निरंकुश राजतन्त्रका समयमा पनि सञ्चारमाध्यम उनीहरुको निशानामा परेको भन्दै प्रचण्डले अहिले पनि राजावादीहरुले सञ्चारमाध्यमलाई निशाना बनाएको धारणा राखे । गणतन्त्रवादको मर्मलाई आत्मसाथ गर्दै भ्रष्टाचारीको संरचना र बिचौलियासंग साठगाँठ बन्द गरे गणतन्त्रवादीको एकता हुने उनको भनाई छ । उनले सत्ता गठबन्धनले लाभका लागि सेटिङ गर्दै कर्मचारी नियुक्त गर्न के गरिरहेको छ भन्ने आफुलाई जानकारी भएको उल्लेख गरे ।
राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्दा मुलुकको अर्थतन्त्र सुधार गर्ने गरी अघि बढ्न उनले सुझाव दिए । कार्यक्रममा प्रेस सेन्टरले विभिन्न पुरस्कारबाट पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको थियो ।