काठमाडौँ – सरकारले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
शुक्रबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बरसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनले भने, ‘आज पूर्वराजाका समर्थकद्वारा काठमाडौँको तीनकुने आसपास क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक, सरकारी सम्पत्ति, अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय तथा सञ्चारगृहमा भएको आक्रमण, अगजनी र तोडफोड एवम् अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस रहेको अवस्थामा घुंगामुढा, आगजनी र मानिसको ज्यान जानेजस्ता अमानवीय र गैरकानुनी कार्य गरी तोडफोड र लुटपाटजस्ता कार्यहरु भएकोमा नेपाल सरकार घोर भर्त्सना गर्दछ ।’
साथै बैठकले घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले मिलाउने निर्णय गरेको छ ।
उनले थपे, ‘नेपाल सरकार उक्त घटनामा मृत्यु भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जिलि व्यक्त गर्दछ । सो क्रममा घाइते भएकाहरुको शीघ स्वास्थ्य लाभको कामना गर्दछ । प्रदर्शनमा घाइते हुनेहरुको स्वास्थ्योपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने, आज घटेको उक्त घटनामा सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’