काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राजतन्त्र पुनर्स्थापनाको चर्चा हुने क्रमसँगै कडा प्रतिक्रिया जनाएका छन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको व्यवहारप्रति कटाक्ष गर्दै नेपालको राजा धोएर वा सफा गरेर संवैधानिक बनाउन सकिँदैन भन्ने धारणा व्यक्त गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले निर्मल निवासमा बसेर लोकतन्त्रविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई पुनः नारायणहिटीमा राखिएको भए के अवस्था आउँथ्यो? भनी प्रश्नसमेत गरे। “निर्मल निवासमा बसेर उत्पात मच्चाउने शाहलाई नारायणहिटिमा राखिएको भए के गर्थे ?” उनको प्रश्न छ ।
थापाले गणतन्त्र जनताको संघर्षबाट प्राप्त व्यवस्था भएको उल्लेख गर्दै यसमा कमजोरी भए सुधार गर्न सकिने बताए। “जनताले चुनेका प्रतिनिधिहरू देश चलाउन सक्षम छन्। लडेर ल्याएको गणतन्त्र सुधार्ने कुरा हो, फाल्ने होइन,” उनले भने।
कार्यक्रममा उनले संघीयताको कार्यान्वयन, महाधिवेशनको समयसीमा र आगामी निर्वाचन तयारी लगायतका विषयमा पनि धारणा राखे । साथै उनले ८४ को निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने पनि स्पष्ट पारेका छन् ।