काठमाडौं – जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् । उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए ।
राणाले आफुहरुले राजनीति गर्ने राजसंस्था खोजेको नभइ अभिभावकीय र राष्ट्ररक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे ।
सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा मान्दै आएको भन्दै उहाले राजसंस्था हटेपछि देश संकटमा पुगेको उल्लेख गरे ।
साथै उनले हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्नको लागि नयाँ पार्टी जन्मिएको बताए ।


























































