काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले स्वभाविक अधिकारलाई खुम्च्याउदैँ लगेका कारण प्रदर्शनका लागि निषेधित क्षेत्र रोजेको बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट निस्कदै गर्दा सञ्चारकर्मीसंग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यसबाट मानव अधिकार संघसंस्थाहरुको ध्यानाकर्षण हुने उनले विश्वास व्यक्त गरे ।
‘यो सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने स्वभाविक अधिकारलाई खुम्चाउदैँ लगेको छ र जनताबाट सरकार झन्–झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ । अनि सरकारको नजिकै गएर प्रदर्शन गरौँ भनेर र सुनाऔँ भनेर निषेधि क्षेत्र रोज्यौँ’ उनले भने ।
राप्रपाले आज तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग राख्दै बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो ।
यसैक्रममा लिङदेन तथा ज्ञानेन्द्र शाही लगायतले सिंहदरबार क्षेत्रभित्रै प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियनत्रणमा लिएको छ ।