काठमाडौं– भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टर र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काबीच काठमाडौंमा सम्पन्न वार्ता फलदायी भएको छ।
वार्तामा दुवै पक्षले भारत–नेपाल ऊर्जा सहकार्यको समग्र समिक्षा गरेका छन्, जसमा जलविद्युत परियोजनाहरूको प्रगति, नयाँ प्रसारण लाइनको निर्माण, र द्विपक्षीय विद्युत व्यापार लगायतका विषय समेटिएका थिए।
कार्यक्रमको क्रममा भारतको पावर ग्रिड कर्पोरेशन र नेपालको नेपाल विद्युत प्राधिकरणबीच दुईवटा ४०० केभी प्रसारण कोरिडोर निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ती कोरिडोरहरू इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली खण्डमा निर्माण गरिनेछन्।
मन्त्रीद्वय खट्टर र खड्का सम्झौतापत्र हस्ताक्षर समारोहका साक्षी बनेका थिए। दुवै मन्त्रीले यस सम्झौतालाई ऊर्जा क्षेत्रमा ऐतिहासिक सहकार्यको प्रतीक भन्दै भविष्यमा अझै गहिरो साझेदारीका लागि आधार तयार भएको बताएका छन्।