काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानविन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानविन गर्नुपर्ने आफूहरुको मागमा सत्तापक्षले सकारात्मक प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् । उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे ।
‘भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका व्यथितीहरुको बारेमा गम्भीर अध्ययन, छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा हामी सबै प्रतिपक्ष पुग्यौँ ।’ उनले भने, ‘सत्तापक्षको तर्फबाट छछलफल गरेर हामीले भर्खरै जानकारी पयौँ, अध्ययन र छानबिन गर्ने र आवश्यक संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिवद्धता आएपछि प्रतिपक्षीको बीचमा अन्यत्न सकारात्मक वातावरण बनेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहीबेर बसेर स्थगित गरिएको उनले बताए । प्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ ।
प्रचण्डले समिति बनाएपछि तत्काल छानविन सुरु हुने भन्दै अख्तियारसंग कुनै सरोकार नरहेको जिकिर गरे ।