काठमाडौँ –नेपाल औषधी उत्पादक संघको अध्यक्ष पदमा विप्लव अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
अध्यक्षमा उम्मेदवारी दिएका उनका प्रतिस्पर्धी दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मतले निर्वाचित भएका हुन्।
अधिकारी एपोनका पूर्व महासचिव पनि हुन् । उनी यसअघि पनि अघिल्लो पटक अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका थिए । तर यस पटक भने उनी सर्वसम्मत रूपमै निर्वाचित भएका हुन् ।
यसपटकको कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, सात जना पदाधिकारी, र छ जना सदस्य सहित कुल १३ जनाको कार्यसमिति रहने बताइएको छ।
एपोनको विधानअनुसार, अध्यक्ष बाहेक बाँकी पदाधिकारीका लागि सदस्य पदमा निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ। जस अनुसार, सदस्य पदमा निर्वाचित उम्मेदवारलाई अध्यक्षले प्रमुख पदहरूको जिम्मेवारी दिनेछन्।
सदस्य पदका उम्मेदवारहरूमा प्रभात रुङ्गटा, दीपक कुमार टिवडेवाला, पंकज कुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश र नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवण दाहाल रहेका छन्।
































































