काठमाडौं- अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा दोस्रो जित हात पारेको छ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गरेको हो।


ADVERTISEMENT

# # #


अन्नपूर्णको जितमा उरनबायरले उत्कृष्ट प्रदर्शन गरे। उनी लगातार दोस्रो खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। यसअघि काठमाडौं रेड्सविरुद्धको खेलमा पनि उनले उक्त अवार्ड जितेका थिए।

तीन खेल खेलेको अन्नपूर्णको यो दोस्रो जित हो। अन्नपूर्णले आफ्नो दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो।

उता, मधेश वारियर्स भने लिगमा अझै जितविहीन छ। तीन खेल खेलेको मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ तथा दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ को सेटमा पराजित भएको थियो।

नेपाल भलिबल संघको सहयोग तथा केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।