काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार कोशी प्रदेश सरकारले २८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
सरकारको कामलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यसहित ल्याइएको न्यूनतम साझा कार्यक्रममा बजेट पुनरावलोकनदेखि सुशासन, पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य तथा विद्युतीय शासनसम्मका विषयलाई प्राथमिकता दिइएको छ।
न्यूनतम साझा कार्यक्रम निर्माणका लागि नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको संयोजकत्वमा एमालेका कोशी संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोसहित सात सदस्यीय समिति गठन गरिएको थियो।
सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली कम्युनिस्ट पार्टीका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गर्दै सार्वजनिक गरेका हुन्।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गत साउन ९ गते भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेशमा भदौ १ गतेदेखि नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी भएको थियो। सोही सहमतिअनुसार प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गरिएको हो।
































































