काठमाडौँ — भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोका कारण बेपत्ता हुने नेपाली नागरिकको संख्या २२ पुगेको छ।


ADVERTISEMENT


साउन २० गते उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढीमा नेपालीहरू पनि परेका छन्।


ADVERTISEMENT

# # #


पछिल्लो जानकारी अनुसार, धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ बाढीपछि सम्पर्कविहीन भएका छन्। उनीहरू मजदुरीको सिलसिलामा उत्तराखण्ड गएका थिए।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले उनीहरू सम्पर्कविहीन भएको सूचना परिवारबाट प्राप्त भएको बताए। खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत भारतस्थित नेपाली दूतावासलाई जानकारी गराएको छ।

यसअघि, जाजरकोट, बर्दिया र जुम्लाका गरी १८ जना नेपाली सम्पर्कविहीन भएको पुष्टि भएको छ। बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंहसहित परिचय नखुलेका थप नौ जना, कुल १३ जना रहेका छन्।

यसैगरि, बर्दियाको मधुवन नगरपालिकाका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार, सुवास विक र जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पुष्टि गरेका छन्।

यी सबै विवरणहरू संकलन गर्दा उत्तराखण्डको बाढी र पहिरोमा परी हालसम्म २२ जना नेपाली सम्पर्कविहीन भएको पुष्टि भएको हो।

नेपाल सरकारका सम्बन्धित निकायहरूले भारत सरकारसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेका छन्। भारतको उत्तरकाशी जिल्लामा अहिले पनि उद्धार कार्य जारी रहेको जनाइएको छ।