काठमाडौं- विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको रसुवा पुनः सडक सञ्जालमा जोडिएको छ। बाढीका कारण लामो समयदेखि प्रभावित सडकखण्ड सञ्चालनमा ल्याइएसँगै रसुवासँगको सडक सम्पर्क पुनःस्थापित भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको छ।
सडक सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन र स्थानीयको आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि रसुवाका विभिन्न क्षेत्रसँगको यातायात सम्पर्क प्रभावित बनेको थियो। सडक खुलाउन सम्बन्धित निकायले क्षतिग्रस्त संरचना तथा सडकखण्डमा मर्मत र व्यवस्थापनको काम अघि बढाएका थिए।
हाल साना सवारी सञ्चालन गर्न मिल्ने गरी सडक खुलाइए पनि अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।































































