काठमाडौं– छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक नवलपरासी पश्चिम सुनवल नगरपालिका १ घर भएका २२ वर्षीय शिरिष पौडेल, स्कुटरमा सवार काभ्रे पाँचखाल नगरपालिका २ घर भएका २३ वर्षीय नितेश नेपाल र जोशीपुर गाउँपालिका ५ बनकट्टा बस्ने २३ वर्षीय सागर डगौरा रहेका छन् ।
काठमाडौं महानगरपालिका ३२ जडिबुट्टीस्थित सडक छेउमा रोकी राखेको बा.प्र.०१.००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार शिरिष पौडेल र नितेश नेपालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, कैलालीको जानकी गाउँपालिका ४ रामजानकी मन्दिरस्थित सडकमा सु.प.प्र ०१००१ क २७८६ नम्बरको बसले से. ४ प १७४५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा सागर डगौराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेवा नर्सिङ होम नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



























































