काठमाडौँ – नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयासका रुपमा अथ्र्याएको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकका निर्णय सुनाउने क्रममा पार्टीका प्रवक्ता सापकोटाले सरकारको उक्त कार्यको विस्तृत रुपमा अध्ययन गर्ने उल्लेख गर्दै प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको देखिएको बताएका हुन् । बैठकमा स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफल भएको र त्यस बिषयमा पछि निर्णय हुने उनले उल्लेख गरे ।
यस्तै माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । प्रवक्ता सापकोटाले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरुपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्दै जाने उनले बताए ।
त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको उनले जानकारी दिनए । उनले अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि अन्तरक्रिया, अन्तरसंवादमा जोड दिने निर्णय भएको उल्लेख गरे । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराउनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।



























































