काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीको विधान महाधिवेशनमा छलफलका लागि फरक दस्तावेज दर्ता गरेका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासल पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मतसहितको दस्तावेज दर्ता गरेको थापाले जानकारी दिए । पार्टीको नर्वौ केन्द्रीय कमिटीमा आफुले राखेको फरक मतलाई नै विधान महाविधेशनमा छलफल गर्ने गरि फरक दस्तावेजका रुपमा पार्टी कार्यालयमा दर्ता गराइएको उनले बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पार्टीको विधान र संविधानबिपरित रहेको उल्लेख गरे । थापाले प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेका निर्णयहरु, भएका कामहरु, विधि, मूल्य मान्यता अनुसार पार्टी सञ्चालन नभएको उल्लेख गरे ।
उनले पार्टीलाई लोकतान्त्रिक विधि अनुसार चलाउनका लागि नै फरक दस्तावेज दर्ज गरेको भन्दै विधान महाधिवेशनमा आफ्नो दस्तावेजमाथि छलफल हुने बताए । एमालेको विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।



























































