काठमाडौं । अबदेखि नेपालमा हुने सबै डिजिटल कारोबारहरूको अन्तिम सेटलमेन्ट (राफसाफ) नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत हुने भएको छ।
राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विच सम्बन्धी सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै, भुक्तानी सेवा प्रदायकहरू, बैंक तथा वित्तीय संस्थाहरू, र अन्य सरोकारवालाहरूबाट सल्लाह र सुझाव मागेको छ। सल्लाह सुझावको आधारमा आवश्यक संशोधन गरी मात्र यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइने बताइएको छ।
हाल नेपालपे, फोनपे, एससिटीलगायत आठ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरूले डिजिटल कारोबारको सेवा दिइरहेका छन्। ती कम्पनीहरूको प्रणालीमार्फत भएका कारोबारहरू तोकिएको वाणिज्य बैंकहरूमार्फत अन्तिम सेटलमेन्ट हुँदै आएको छ।
तर नयाँ व्यवस्थाअनुसार, तीनै को प्रणाली प्रयोग हुने भए पनि अन्तिम राफसाफ राष्ट्र बैंककै प्रणालीमार्फत हुनेछ। सबै कारोबारहरू पहिला नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा प्रवेश गर्नेछन्। हाल नेपाल क्लियरिङ हाउस लिमिटेड ले उक्त स्विचको सञ्चालन गरिरहेको छ।
राष्ट्र बैंकको प्रणाली हाल २० लाख रुपैयाँभन्दा माथिका कारोबारमा प्रयोग गर्नुपर्ने अनिवार्य व्यवस्था छ। तर अब यो प्रणालीबाट न्यूनतम २ लाख रुपैयाँसम्मको कारोबार पनि गर्न मिल्ने व्यवस्था मिलाइनेछ।
नयाँ प्रणाली लागू भएपछि, डिजिटल कारोबारसम्बन्धी तथ्यांक एकीकृत रूपमा राष्ट्र बैंकमै रहने भएकाले पारदर्शिता, नियमन र तथ्यांक संकलन सहज हुने विश्वास गरिएको छ।
त्यस्तै, विभिन्न प्रणालीहरूबीच अन्तरजडान समेत कायम हुने भएकाले प्रयोगकर्ताहरूले जुनसुकै एप प्रयोग गरेर अन्य प्रणालीमा पनि कारोबार गर्न सक्नेछन्। यसले डिजिटल भुक्तानी प्रणालीलाई अझ सक्षम, सुरक्षित र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।



























































