ललितपुर — नेपाली काँग्रेसले आगामी संघीय निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट दिवाकर नेपाललाई उम्मेदवारमा सिफारिस गरेको छ।


ADVERTISEMENT


महालक्ष्मी नगरपालिका–८ मा २०२९ सालमा जन्मिएका नेपाल लामो समयदेखि विद्यार्थी राजनीति, स्थानीय संगठन तथा पार्टी संरचनामा सक्रिय नेता मानिन्छन्।


ADVERTISEMENT

# # #


 नेपालले २०४४ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सदस्य हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसभन्दा तीन वर्षपछि, २०४७ मा, उनी तत्कालीन लुभु गाविस–८ का इकाइ सचिव बनेपछि नेपाली काँग्रेसको औपचारिक राजनीतिमा सक्रिय भई पार्टी निर्माणमा लागे।

शिक्षक पेसामा २० वर्ष बिताएका नेपाल शिक्षा क्षेत्रको संस्था ललितपुर प्याब्सनमा वरिष्ठ उपाध्यक्षसमेत रहेर योगदान पुराए । अनुभवी, संयमित नेतृत्व तथा जनसम्पर्क क्षमताका कारण उनी क्षेत्र नं.२ मा लोकप्रिय नेता मानिन्छन्।

२०७८ सालमा सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेपाल ललितपुर क्षेत्र नं. २ प्रदेश सभा क्षेत्रीय सभापति पदमा निर्वाचित भएका थिए। यही संगठनात्मक आधार र नेतृत्व क्षमताका कारण पार्टीले उनलाई अब संघीय प्रतिनिधिसभा सदस्यका उम्मेदवारको रूपमा अघि सारेको हो।

विद्यार्थी राजनीतिमा पनि समान रूपमा अगाडि रहेका नेपाल महालक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका उम्मेदवार बनेका थिए। तीन भोटले पराजित भए पनि उनी स्थानीय विद्यार्थी राजनीति तथा नेतृत्व क्षमताका कारण चर्चामा आए।

नेपालले २०५१ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेपछि विभिन्न स्थानीय, प्रदेश तथा संघीय तहका निर्वाचनमा पार्टीलाई जिताउन अग्रणी भूमिका खेल्दै आए।