ललितपुर, चैत — ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित “Bike Hospital” नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई किर्ते कागजात बनाई बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत प्रहरी वृत्त सातदोबाटो बाट खटिएको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल टिकाथली बस्दै आएका २३ वर्षीय विशाल महतो, सोही स्थानका २९ वर्षीय भिम बहादुर अधिकारी (हाल नरेफाट बसोबास) तथा रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल कोटेश्वर बस्दै आएका २७ वर्षीय संजिव कुमार कुसवाहा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले चोरीका मोटरसाइकलको इन्जिन तथा चेसिस नम्बर परिवर्तन गरी नक्कली ब्लूबुकसमेत तयार गरेर बिक्री गर्दै आएका थिए।
प्रहरीले उनीहरूबाट KTM Duke 250, KTM Duke 200, Royal Enfield 350 र KTM Adventure 250 गरी चार वटा मोटरसाइकल तथा तीन थान ब्लूबुक बरामद गरेको छ। पक्राउ परेकामाथि चोरी तथा किर्ते सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























































