काठमाडौँ –प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनप्रति आश्चर्य प्रकट गरेकी छन् ।
बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गरेपछि बोल्दै रुबीले रास्वपाले आफूलाई समर्थन गर्ने भन्ने कुरा नसोचेको बताएकी हुन् । यद्दपि मधेशकी छोरी सम्झेर रास्वपाले समर्थन गरेको हुनसक्ने उनले बताइन् ।
उनले भनिन्, ‘समर्थन आउँछ भन्ने सोचेकी थिइनँ । म मधेशकी छोरी हो । सबै जनाले मधेशकी छोरीलाई अगाडि बढाउन भनेर आउनु भएको होला । धेरै धेरै धन्यवाद ।’ उनले आफूले उपसभामुखका लागि कुरा नगरे पनि यो स्थानसम्म पुर्याइदिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई धन्यवाद समेत दिइन् ।
रास्वपाले समर्थन गर्ने भएसँगै रुबी उपसभामुखमा निर्वाचित हुने पक्का भएको छ ।


























































