धादिङ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–१ नृसिंहधामस्थित बुढी गण्डकी र नेत्रावती गंगाको पवित्र संगमस्थलमा बिहीबारदेखि सुरु भएको “श्री नृसिंहधाम पुरुषोत्तम महामहोत्सव २०८३” को उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले धार्मिक आस्था, संस्कृतिको संरक्षण र पर्यटन विकास एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गरे।
उनले नृसिंहधाम जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
“धार्मिक स्थल केवल आस्थाको केन्द्र मात्र होइन, समाजलाई एकताबद्ध गर्ने र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने आधार पनि हो,” मुख्यमन्त्री बानियाँले भने।
जेठ १ गतेदेखि ३१ गतेसम्म एक महिनासम्म सञ्चालन हुने महामहोत्सवमा धार्मिक कथा प्रवचन, पूजाआजा, भजनकीर्तन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न आध्यात्मिक गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ कार्यक्रममा देशका विभिन्न स्थानबाट साधुसन्त, धर्मगुरु, भक्तजन तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
महामहोत्सवको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा हजारौँ भक्तजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बुढी गण्डकी र नेत्रावती गंगाको संगमस्थल धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा पहल आवश्यक रहेको बताएका थिए।
महामहोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यापार व्यवसाय, कला संस्कृति तथा सामाजिक सद्भाव अभिवृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।



























































