काठमाडौं- कृषि, प्रविधि तथा संस्थागत साझेदारीका सम्भावित क्षेत्रहरूको पहिचान र सहकार्य विस्तार गर्ने उद्देश्यले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबीच शुक्रबार हेटौंडामा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।


ADVERTISEMENT


भेटवार्तामा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, सिटिईभिटी बागमती प्रदेशकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामा तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामालगायतको सहभागिता रहेको थियो।


ADVERTISEMENT

# # #


 

संयुक्त छलफलमा कृषि, प्रविधि, प्राविधिक शिक्षा तथा संस्थागत सहकार्यका सम्भावनाबारे विस्तृत विचार–विमर्श गरिएको थियो। भेटपछि राजदूत बासले इजरायल सरकार र बागमती प्रदेश सरकारबीच विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भ्रमणका क्रममा उनले औद्योगिक क्षेत्र व्यवस्थापन समितिको कार्यालय, बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, अन्ट्राटिका बिस्कुट उद्योग, एसटिसी इनर्जी ब्याट्री उद्योग, जनप्रिय प्राविधिक शिक्षालय तथा ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको समेत अवलोकन गरेका छन्।

उक्त भ्रमणले बागमती प्रदेशमा कृषि, प्राविधिक शिक्षा, औद्योगिक विकास तथा अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।