काठमाडौं- गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन, निरीक्षण र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारले विशेष अनुगमन संयन्त्र गठन गर्ने तयारी गरिरहेको बताएका छन्।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री गुरुङले विभिन्न सीमा क्षेत्रको स्थलगत अनुगमनबाट प्राप्त अनुभवका आधारमा अब नियमित निगरानीका लागि छुट्टै संयन्त्र आवश्यक रहेको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनका अनुसार गृहमन्त्री स्वयं प्रत्येक पटक सीमा क्षेत्रमा पुग्दा भीडभाड बढ्ने र नियमित काममा असर पर्ने भएकाले अब सादा पोशाकमा प्रतिनिधि परिचालन गरी सीमा नाकामा सुरक्षा, सेवा प्रवाह र कार्यसम्पादनको निरन्तर अनुगमन गरिनेछ।

गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले जीर्ण भवनमा बस्नुपर्ने, पिउने पानीको अभाव, रातभर ड्युटी गर्नुपर्ने लगायतका समस्या झेलिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए।

खुला सीमाका कारण अपराध गरेर अर्को देशतर्फ भाग्ने, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि बढ्ने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाइने बताएका छन्।

उनले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रमा देखिएका समस्यालाई सरकारले विशेष प्राथमिकतामा राखेको जानकारी दिए। साथै, सीमावर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको नागरिकतासम्बन्धी समस्या समाधानको प्रक्रिया पनि अघि बढिरहेको उनले बताए।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले सीमा क्षेत्रमा भइरहेको सुरक्षा व्यवस्थापन, चुनौती र आवश्यक सुधारका विषयमा जानकारी गराएका थिए। समितिका सदस्यहरूले सीमा नाकामा नेपाली नागरिकले भोग्दै आएका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन्।