काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रसंग सम्बन्धीत रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिका बिषयमा प्रष्टिकरण दिदै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको बताएका हुन् । एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई प्रधानमन्त्रीले ईंगित गर्न खोेजेको उनले बताएका छन् ।
उनले नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्सांकन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण लगाएतका बिषयमा लगत संकलन गर्न दुई देशका सीमासम्बन्धी समन्वय र प्राविधिक टोलीहरू क्रियाशील रहेको बताएका छन् ।
मन्त्री खनालले दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको उनले बताएका छन् ।
सरकार गठन भएपश्चात राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । उनले द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउँदै राष्ट्र हित र आर्थिक कूटनीतिलाई प्रबद्र्धन गर्ने दिशामा छोटो समयमै महत्त्वपूर्ण कदमहरू लिइएको धारणा राखेका छन्।


























































