काठमाडौं – कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ।


ADVERTISEMENT


भारत सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिन लागिएको हो। परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत हुनेछ। यो कालीकोट जिल्लामा सञ्चालन हुन लागेको पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।


ADVERTISEMENT

# # #


शिलान्यास कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले विद्यालयको नयाँ भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज सिकाइ वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाका सबै सरोकारवालाहरूलाई शुभकामना दिँदै साझा विकास र समृद्धिका लागि नेपाल सरकार र नेपाली जनतासँग सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरेको जनाएको छ। तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशमा रहेका छन्।

यसका साथै भारत सरकारले कालीकोट जिल्लामा चारवटा एम्बुलेन्स र दुईवटा विद्यालय बस उपलब्ध गराएको छ। कर्णाली प्रदेशका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

भारत र नेपालबीचको विकास सहकार्यअन्तर्गत सञ्चालन हुने यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकासमा योगदान पुर्‍याउनुका साथै नेपाल सरकारको विकास तथा समृद्धिको अभियानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।