ललितपुर – आगामी १२ वर्षे सिंहअस्त मेलालाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन बागमती प्रदेश सरकार सक्रिय रूपमा जुटेको छ। सोही अभियानअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलसहित गोदावरी कुण्ड मन्दिर परिसरको स्थलगत निरीक्षण गरेका छन्।


ADVERTISEMENT


निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले मेलालाई लक्षित गरी भइरहेका भौतिक पूर्वाधार निर्माण, तीर्थयात्री व्यवस्थापन, सडक पहुँच, सरसफाइ तथा आवश्यक सेवा–सुविधाको अवस्थाबारे जानकारी लिएका छन्। उनले निर्माण कार्यको प्रगति सन्तोषजनक भए पनि निर्धारित समयभित्र सबै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले सिंहअस्त मेला केवल धार्मिक पर्व मात्र नभई नेपालको सांस्कृतिक पहिचान र सभ्यताको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै यसको सफल आयोजनाले गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताएका छन्। उनले लाखौं श्रद्धालु आउने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा, खानेपानी, शौचालय, पार्किङ तथा आवागमन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

निरीक्षणका क्रममा आवश्यक थप संरचना निर्माण, कुण्ड क्षेत्रको सौन्दर्यीकरण तथा दीर्घकालीन संरक्षणका विषयमा पनि छलफल भएको थियो। प्रदेश सरकारले गोदावरी कुण्डलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने लक्ष्यका साथ योजना अघि बढाएको जनाएको छ।

सिंहअस्त मेला हिन्दू धर्मावलम्बीहरूको विशेष आस्थासँग जोडिएको पर्व हो, जुन प्रत्येक १२ वर्षमा आयोजना गरिन्छ। यस अवसरमा देश तथा विदेशबाट हजारौं श्रद्धालु गोदावरी पुग्ने भएकाले प्रदेश सरकार तयारीलाई तीव्र बनाउँदै आवश्यक पूर्वाधार निर्माणमा जोड दिइरहेको छ।

मुख्यमन्त्री बानियाँले निरीक्षणपछि “पवित्र गोदावरी कुण्डको संरक्षण, विकास र समृद्धि हाम्रो साझा प्रतिबद्धता हो” भन्दै धार्मिक सम्पदाको संरक्षणसँगै क्षेत्रको समग्र विकासमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।