काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। महासंघको अध्यक्षमा निर्वाचित पुण्यप्रसाद सिटौला सरोज नेतृत्वको केन्द्रीय कार्यकारिणी समितिले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेको हो।
पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण ज्ञवालीले शपथ गराएका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शपथ ग्रहणपछि अध्यक्ष सिटौला नेतृत्वको टोलीले सार्वजनिक यातायात क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित संरक्षण र सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वले यातायात क्षेत्रका चुनौती समाधान गर्दै व्यवसायी र सेवाग्राही दुवैको हितलाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार शाही र केदारप्रसाद पौडेल रहेका छन् भने महासचिवको जिम्मेवारी देगनाथ गौतमले सम्हालेका छन्। सचिवमा उमेश केसी, चेतप्रसाद गौतम ९अर्जुन० र टंकप्रसाद बस्याल तथा कोषाध्यक्षमा राजेन्द्र आचार्य र सह–कोषाध्यक्षमा शोभाखर पौडेल रहेका छन्।
यसैबीच महासंघले सातै प्रदेशका लागि प्रादेशिक संयोजकहरूलाई पनि जिम्मेवारी प्रदान गरेको छ। कोशीदेखि सुदूरपश्चिमसम्मका प्रदेश संयोजकहरूले यातायात व्यवसायीका समस्या समाधान र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको महासंघले जनाएको छ।
पदस्थापन कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक ज्ञवालीले लोकतान्त्रिक प्रक्रियाबाट चयन भएको नयाँ नेतृत्वले यातायात क्षेत्रको विकास, सुधार र व्यवसायीहरूको साझा हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
देशभरका यातायात समिति, व्यवसायी संघ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमसँगै महासंघको नयाँ कार्यसमितिले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेको
छ।



























































