काठमाडौं– नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वासिलो ब्रान्डका रूपमा स्थापित हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बनेको घोषणा गरेको छ। विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सवलाई नेपाली दर्शकमाझ थप प्रभावकारी ढंगले पुर्याउने उद्देश्यसहित हिमस्टारले टेलिभिजन तथा डिजिटल प्रसारण साझेदारीमा आफ्नो सहभागिता जनाएको हो।
कम्पनीले विश्वकपका खेलहरू टेलिभिजनमार्फत प्रसारणका लागि हिमालय स्पोर्ट्स टिभीसँग तथा डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारणका लागि डिशहोमको डिजिटल प्लेटफर्म डीजीओसँग सहकार्य गरेको जनाएको छ। यस सहकार्यमार्फत नेपाली फुटबल समर्थकहरूले विश्वकपका रोमाञ्चक खेलहरू सहज रूपमा हेर्न पाउने विश्वास कम्पनीको छ।
हिमस्टारका अनुसार विश्वकपजस्तो विश्वव्यापी खेल उत्सवसँग जोडिनु कम्पनीका लागि गौरवको विषय हो। कम्पनीले यस अवसरलाई विशेष बनाउँदै ग्राहकका लागि आकर्षक उपहार तथा छुट योजनासमेत सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ४३ इन्च अल्ट्रा एचडी वा सोभन्दा माथिका हिमस्टार टेलिभिजन खरिद गर्ने ग्राहकले ३२ प्रतिशतसम्मको क्यासब्याक, फिफा विश्वकप २०२६ को लाइभ स्ट्रिमिङ सिजन पास तथा एक वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजना विश्वकप अवधिभर लागू हुनेछ।
हिमस्टारले नेपाली दर्शकलाई उत्कृष्ट दृश्य र श्रव्य अनुभव प्रदान गर्दै विश्वकपको उत्साह घरघरमा पुर्याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले आधुनिक प्रविधियुक्त टेलिभिजन तथा घरेलु विद्युतीय उपकरणमार्फत नेपाली उपभोक्ताको विश्वास जित्दै आएको उल्लेख गर्दै विश्वकपसँगको यो सहकार्यले ब्रान्डलाई खेलप्रेमीहरूमाझ अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
फुटबल विश्वकप २०२६ को माहोल बढ्दै जाँदा हिमस्टारको यो पहलले नेपाली फुटबल समर्थकलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभव गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।



























































