काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरि गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलिमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल सम्वाद कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भएपनि कानूनी प्रबन्ध नै नगरि आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादस्पद हुन सक्ने बताएका हुन्।
उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनुपर्ने धारणा राखेका छन् ।
सभापति थापाले हरेक प्रकरणको छानविन हुनुपर्ने र दोषि देखिएका सवैलाई कारवाहीको दायरमा ल्याउनुपर्ने आफुहरुको प्रष्ट धारणा रहेको उल्लेख गरेका छन् ।
उनले राहदानी छपाई प्रकरणमा पनि गल्ति गर्नेलाई कारवाही हुनुपर्ने भन्दै सरकारले पनि कानूनी विधि प्रक्रियाको ख्याल गर्नुपर्ने बताएका छन् ।
सभापति थापाले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यसबारेमा पनि सम्बन्धीत पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् ।



























































