काठमाडौं – भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा गरी १६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते अवस्थामा उद्धार गरिएको छ।
दिउँसो २ः४७ बजेसम्मको विवरणअनुसार नुवाकोटमा सबैभन्दा धेरै ९ जनाको मृत्यु भएको छ। रसुवामा १ जना र धादिङमा ६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
मृतकमध्ये ७ जना महिला, ८ जना पुरुष र १ जनाको लिङ्ग पहिचान हुन बाँकी रहेको विवरणमा उल्लेख छ। त्यस्तै, घाइते अवस्थामा उद्धार गरिएका ३५ जनामध्ये रसुवाबाट १३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट ३ जना रहेका छन्। रसुवामा उद्धार गरिएका घाइतेमध्ये केहीलाई काठमाडौं र केहीलाई धुन्चेमा उपचारका लागि लगिएको छ।
विवरणअनुसार रसुवाबाट उद्धार गरिएका १३ घाइतेमध्ये ५ जनालाई काठमाडौं र ७ जनालाई धुन्चे पुर्याइएको छ। उद्धार गरिएकामध्ये एक जना प्रहरीसमेत रहेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्य जारी रहेकाले मृतक, घाइते तथा उद्धारको संख्या थप बढ्न सक्ने सम्बन्धित निकायले जनाएको छ।






























































