काठमाडौं – चीनको तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ। बाढीका कारण तटीय तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै कांग्रेसले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय तथा नागरिकलाई आग्रह गरेको छ।


ADVERTISEMENT


नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा रसुवाबाट नेपाल प्रवेश गरेको बाढी तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनसहितका जिल्लामा रहेका सरकारी संयन्त्र तथा नागरिक समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


ADVERTISEMENT

# # #


कांग्रेसले बाढीका कारण प्रभावित नागरिकको तत्काल उद्धार, उपचार तथा राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारले आवश्यक पहललाई तीव्रता दिनुपर्ने जनाएको छ। विपद्को समयमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य अघि बढाउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ। विपद्को घडीमा सरकारी संयन्त्रसँगै राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिक समाजको समेत महत्वपूर्ण भूमिका रहने कांग्रेसको भनाइ छ।

त्यस्तै, बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रिय रूपमा जुट्न नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्रीय, गाउँ–नगर तथा वडा कार्यसमितिसहित सम्पूर्ण शुभेच्छुकहरूलाई समेत आग्रह गरिएको छ। विपद्को समयमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै कांग्रेसले सबै पक्षलाई संयम, सावधानी र धैर्यका साथ राहत तथा उद्धार अभियानमा लाग्न अनुरोध गरेको छ।

कांग्रेस बागमतीले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि पार्टीका सबै तहका संगठनलाई परिचालन हुन आग्रह गरेको छ। साथै, सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै नदी तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन पनि अपिल गरेको छ।