काठमाडौं-नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भत्र्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् ।
पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको वर्खिलाफमा रहेकाले अविलम्ब बिनाशर्त रिहाई गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताएका छन् । फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई श्रृङ्खलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए।
सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थीतिको जिम्मेवार स्वयं सरकार नै हुने उनले चेतावनी दिएका छन् । बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका बिरुद्ध सदनबाट संघर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिएका छन् ।
बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य बस्तुमा भएको मूल्यबृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ भने प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि राज्यका निकायहरुलाई तयारी अवस्थामा रहन र सहज रुपमा मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले बताएका छन्।



























































