काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेल लाई थप अनुसन्धानका लागि ७ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा मंगलबार विशेष अदालतले उक्त अनुमति दिएको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को इजलासले सोमबारदेखि लागू हुने गरी ७ दिन हिरासतमा राख्न स्वीकृति दिएको अदालतले जनाएको छ।
विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। सुर्खेतबाट बाँके हुँदै स्थलमार्गबाट उनलाई मंगलबार बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको थियो। त्यसपछि विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो।
अनुसन्धान विभागका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरिएको हो। उक्त कारोबारसँग सम्बन्धित वित्तीय गतिविधिमाथि विभागले थप अनुसन्धान गरिरहेको जनाएको छ।
विभागले अदालतबाट म्याद थप अनुमति पाएसँगै पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपको विस्तृत अनुसन्धान अघि बढाउने भएको छ। एमालेका उपाध्यक्षसमेत रहेका पौडेलको पक्राउले राजनीतिक वृत्तमा समेत चर्चा चुलिएको छ।



























































