काठमाडौं- शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली खेलकुद क्षेत्रमा अतुलनीय योगदान पुर्याएका दुई विशिष्ट खेल व्यक्तित्वलाई सम्मान गर्दै ‘SCSMF Sports Award 2026’ भव्य रूपमा सम्पन्न गरेको छ।
काठमाडौंको कमलादीस्थित Hotel Royal Singi मा मंगलबार आयोजित समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछाने लाई सम्मान प्रदान गरिएको हो।
दुई पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेका उमेश मास्केले खेल जीवनपछि पनि बक्सिङ खेलको विकास, प्रशिक्षण र व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको फाउण्डेसनले जनाएको छ। नेपाल बक्सिङ संघको नेतृत्व गर्दै उनले बक्सिङ खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान दिएका सन्दीप लामिछानेलाई पनि सम्मान प्रदान गरिएको थियो। आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले हालै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेपछि उनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको हो।
व्यस्त खेल तालिकाका कारण देशबाहिर रहेका सन्दीपको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी किरण शम्शेर जबरा राणा ले सम्मान ग्रहण गरेका थिए। भिडियो सन्देशमार्फत सन्दीपले सम्मानप्रति खुसी व्यक्त गर्दै स्वर्गीय शरद चन्द्र शाहा को नेपाली खेलकुदमा रहेको योगदानको स्मरण गरेका थिए।
पुरस्कारस्वरूप दुवै सम्मानित खेल व्यक्तित्वलाई जनही दुई लाख ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
फाउण्डेसनका अनुसार नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन, सहयोग र सम्मान प्रदान गर्नु यसको मुख्य उद्देश्य हो। स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा स्थापना गरिएको फाउण्डेसनले विगतका वर्षहरूमा पनि खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
‘SCSMF Sports Award 2026’ ले नेपाली खेलकुदको गौरवशाली इतिहास र वर्तमान पुस्ताका उत्कृष्ट उपलब्धिलाई एकै मञ्चमा सम्मानित गर्दै खेलकुद क्षेत्रप्रतिको सम्मान र प्रेरणालाई थप उचाइ दिएको आयोजकले जनाएको छ।



























































