काठमाडौँ- किर्तिपुर नगरपालिकाद्वारा आयोजित नवौं नगर अधिवेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताएका छन्।
मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विकास निर्माण, सुशासन र जनसेवामा केन्द्रित भएर काम गर्न सम्पूर्ण जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। उनले प्रदेश सरकार स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिएका छन्।
उनले नागरिकका आवश्यकता र चाहनालाई केन्द्रमा राखेर विकासका योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारप्रति जनविश्वास बढाउने गरी सेवा प्रवाह गर्न आवश्यक रहेको बताएका छन्। विकास निर्माणका काममा राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजबीच सहकार्य हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले समृद्ध बागमती प्रदेश निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखेका छन्।
अधिवेशनमा किर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नगरको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, वातावरण संरक्षण तथा आर्थिक गतिविधि विस्तारका विषयमा आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका कार्यहरूको समीक्षा तथा आगामी वर्षका योजना र कार्यक्रमबारे समेत विस्तृत छलफल गरिएको थियो।
नगर अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, कर्मचारी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नगरको दिगो विकास, प्रभावकारी सेवा प्रवाह र नागरिकमैत्री शासन प्रणाली निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा नगरपालिकाले आगामी दिनमा नागरिकको जीवनस्तर उकास्ने, विकासलाई तीव्रता दिने तथा सुशासनलाई संस्थागत गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।



























































