काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेल्मेट नलगाई मोटरसाइकल चलाएको आरोपमा ट्राफिक कारबाहीमा परेका छन्।
सामाजिक सञ्जालमा मुख्यमन्त्री शाहले हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर कारबाही गरेको हो।
ट्राफिक प्रहरीले हेल्मेट प्रयोग नगरी सवारी चलाएको कसुरमा मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना गर्दै ट्राफिक चिट काटेको छ।
मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै कानुनअनुसार कारबाही गर्न आफैंले ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए।
उनले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै पद वा हैसियतका आधारमा फरक व्यवहार हुन नहुने धारणा व्यक्त गरेका छन्। साथै, निष्पक्ष रूपमा कानुन कार्यान्वयन गरेको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद पनि दिएका छन्।



























































