काठमाडौं-  यामाहा मोटर कम्पनीले आफ्नो ७१औँ वार्षिकोत्सव राष्ट्रव्यापी सामुदायिक उत्सवका रूपमा विविध कार्यक्रम आयोजना गर्दै मनाएको छ। हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको कम्पनीले यस वर्ष नेपालका सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायलाई समेटेर विशेष कार्यक्रम सञ्चालन गरेको हो।


ADVERTISEMENT


वार्षिकोत्सवको सुरुआत देशभर रहेका यामाहा शोरुम, डिलरशिप तथा कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ केक काटेर गरिएको थियो। यस अवसरमा कम्पनीले २० वर्षदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरेको छ भने देशभरका १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।


ADVERTISEMENT

# # #


ग्राहकलाई लक्षित गर्दै यामाहाले देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट उपलब्ध गराएको थियो। साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानमार्फत प्रत्येक प्रदेशका एक–एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक प्रदान गरिएको थियो। जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहार पनि वितरण गरिएको कम्पनीले जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत यामाहाले धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। उक्त अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको जनाइएको छ। साथै, विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ। यसका साथै १६ देखि ४० वर्षसम्म निरन्तर यामाहा सवारीसाधन प्रयोग गरेका ग्राहक, एकदेखि दुई लाख किलोमिटरसम्म मोटरसाइकल चलाएका राइडर, पूर्वी चितवनमा प्रि–ओन्ड सवारी व्यवसाय सुरु गर्ने उद्यमी तथा तीन दशकभन्दा बढी समयदेखि कार्यरत मेकानिकहरूलाई पनि सम्मान गरिएको थियो।

एमएडब्लू राइड्स प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु अग्रवालले यामाहा नेपालभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको बताउँदै कम्पनीले समुदायसँगै अघि बढ्ने प्रतिबद्धतालाई निरन्तरता दिने बताएका छन्। उनले ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी कार्यक्रममार्फत यामाहाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरेका छन्।

उक्त अवसरमा काठमाडौं प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको थियो भने यामाहाको ‘ब्लू स्ट्रिक्स’ राइडिङ कम्युनिटीले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरेको थियो। यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही तथा कम्पनीका अन्तर्राष्ट्रिय नेतृत्वले पनि ७१औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन्।