भक्तपुर – भक्तपुर अस्पतालमा मेरुदण्ड स्पाइन फ्र्याक्चर भएका एक बिरामीको सफल स्पाइनल स्टेबिलाइजेसन शल्यक्रिया सम्पन्न गरिएको छ।
अस्पतालका अनुसार दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेका बिरामीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। विस्तृत चिकित्सकीय मूल्याङ्कन तथा आवश्यक रेडियोलोजिकल परीक्षणपछि मेरुदण्डमा फ्र्याक्चर भएको पुष्टि भएपछि विशेषज्ञ चिकित्सकहरूको टोलीले सफलतापूर्वक स्पाइन शल्यक्रिया गरेको हो।
शल्यक्रिया भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जन डा. मधु पाण्डे, डा .शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा. रोशन ग्वाछाको टोलीले सम्पन्न गरेको अस्पतालले जनाएको छ।
हाल बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ भने चिकित्सकहरूको निगरानीमा स्वास्थ्य लाभ गरिरहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार यस सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक स्पाइन शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
शल्यक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एनेस्थेसिया विशेषज्ञ डा। दीपक लोहला, एनेस्थेसिया टोली तथा नर्सिङ टोलीप्रति अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।



























































