काठमाडौं – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्ततः प्रदेशसभाबाट पारित भएको छ। केही दिनदेखि बजेट पारित हुने–नहुने भन्ने अन्योल, सत्तापक्षभित्र देखिएको असन्तुष्टि र राजनीतिक दबाबका बीच शनिबार बजेट पारित भएसँगै प्रदेशको राजनीतिक वातावरणमा मडारिएको बादल हटेको छ।
शनिबार बसेको बागमती प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको प्रदेश आर्थिक विधेयक, २०८३ सहित बजेटसम्बन्धी प्रस्ताव बहुमतले पारित गर्यो। उपसभामुख अप्सरा चापागाईंले प्रस्ताव निर्णयार्थ पेश गरेपछि ध्वनि मतका आधारमा बजेट पारित भएको घोषणा गरिन्।
बजेट पारित हुनुअघि विपक्षी प्रदेशसभा सदस्य ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले विभिन्न मन्त्रालयको बजेटमा खर्च कटौतीका प्रस्ताव दर्ता गरेका थिए। ती प्रस्तावहरू निर्णयार्थ पेश गरिए पनि बहुमतले अस्वीकृत गरेपछि सरकारले प्रस्तुत गरेको बजेट यथावत् पारित भयो।
प्रदेश सरकारको बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल भएको थियो। छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेटका प्राथमिकता, योजना छनोट, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता तथा क्षेत्रगत सन्तुलनलगायत विषयमा आफ्ना धारणा राखेका थिए। उठाइएका प्रश्न र जिज्ञासाको सम्बन्धित विभागीय मन्त्रीहरूले शुक्रबार र शनिबार बसेका बैठकमा जवाफ दिएका थिए।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।
बजेट पारित गर्ने क्रममा सत्तारूढ नेपाली कांग्रेसभित्र केही असन्तुष्टि देखिएपछि पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको थियो। त्यसपछि कांग्रेसका सबै सांसद बजेटको पक्षमा उभिए र बजेट सहज रूपमा पारित भयो। यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आन्तरिक मतभेद व्यवस्थापन गर्दै बजेट पारित गराउन सफल नेतृत्व प्रस्तुत गरेका छन्।
बजेट पारित भएपछि मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई बृहत् छलफलसहित पारित गर्न सहयोग गर्ने सत्तापक्ष, प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका नेता, प्रदेशसभा सदस्य, सभामुख, उपसभामुख, प्रदेशसभा सचिवालयका कर्मचारी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
उनले प्रदेशसभा बैठकमा भएको गहन छलफलले बजेटलाई अझ प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण पृष्ठपोषण गरेको बताएका छन्। प्राप्त सुझाव र रचनात्मक सल्लाहलाई आत्मसात गर्दै प्रदेश सरकार अब बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
बजेट पारित भएसँगै अब बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका विकास आयोजना, सेवा प्रवाह र आर्थिक कार्यक्रमलाई कार्यान्वयनको चरणमा लैजाने बाटो खुलेको छ। केही दिनअघिसम्म देखिएको राजनीतिक अन्योल अन्त्य गर्दै बजेट पारित गराउन सफल भएका मुख्यमन्त्री बानियाँले सहमति र समन्वयको राजनीतिलाई प्राथमिकता दिएका छन्।



























































